काठमाडौं । अमेरिकाले देश निकाला गरेका तीन भुटानी शरणार्थी झापामा पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा दमक नगरपालिका–३ बेलडागी शिविरका आशिष सुवेदी, सन्तोष दर्जी र रोशन तामाङ रहेका छन्, जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए।
उनीहरूलाई शनिबार दिउँसो २ बजे बेलडागी शिविरबाट प्रहरी टोलीले पक्राउ गरेको हो। अमेरिकाले उनीहरूलाई भुटान फिर्ता पठाएको थियो, तर उनीहरूले नेपाल पुनः फर्केर शिविरमा बसेका थिए।
प्रहरीको अनुमान छ कि उनीहरू अवैध रूपमा नेपाल प्रवेश गरेका हुन्। भारतमा रहेका भुटानीहरू नेपाल प्रवेश गर्न खोजिरहेका सूचनाको आधारमा सीमा क्षेत्रमा निगरानी बढाइएको डीएसपी खड्काले बताए। पक्राउ परेका तीन जना भुटानी शरणार्थीलाई अध्यागमन कार्यालय काँकडभिट्टा बुझाइएको उनको भनाई छ।
प्रकाशित मिति : २०८१ चैत्र १६ गते आइतवार

