२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

काठमाडौंको वर्कसपमा भएको त्यो विभत्स हत्या, सञ्चालकसहित ६ जना समातिए

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-५ बाहुनाधारा बस्ने १९ वर्षीय राहुल साहको हत्या भएको छ। ११ चैतको साँझ सापटी रकम लिन निस्केका राहुल रातभर घर फर्केनन्, जसका कारण उनका परिवारले १२ चैतमा बौद्ध प्रहरीमा निवेदन दिएका थिए।

प्रहरीले अनुसन्धान गर्दा राहुलले भेट्न गएका मोटरसाइकल वर्कसप सञ्चालक निपु मण्डलको नाम खुल्यो। १५ चैतमा वर्कसप पछाडिको जमिनमा उत्खनन गर्दा ४ दिनदेखि हराइरहेका राहुलको शव फेला परेको हो।

हत्या सापटी रकमको विवादका कारण भएको अनुसन्धानबाट खुल्यो। राहुलले निपुलाई १ लाख १० हजार रुपैयाँ सापटी दिएका थिए, जसको फिर्ती माग गर्दा विवाद भएको थियो।

प्रहरीले हत्या आरोपमा वर्कसप सञ्चालक निपु मण्डल, भारतको बिहार घर भई काठमाडौं दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा, सर्लाहीको चक्रघट्टा गाउँपालिका–६ घर भएका १८ वर्षीय विजय यादव, सोही गाउँपालिका–६ का १८ वर्षका करनकुमार महतो, सोही गाउँपालिका–६ का २३ वर्षीय जोधन मण्डल र चक्रघट्टा–१ का ४५ वर्षीय उत्तम मण्डललाई पक्राउ गरेको छ। उनीहरूको अनुसन्धान जारी छ।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस