२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

थाइल्यान्डमा प्रधानमन्त्री ओलीको भव्य स्वागत, विमानस्थलमै पुगे उपप्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्यान्डको बैंकक आइपुगेका छन्। उनी बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास) को छैटौं शिखर सम्मेलनमा भाग लिन र औपचारिक भ्रमणका क्रममा बैंकक पुगेका हुन्।

प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समयअनुसार ६:१५ बजे सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका थिए। उनलाई थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ, थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली तथा नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरेका छन्।

थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाल, आर्थिक-विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी छन्।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस