२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

एक महिना लामो संघर्षपछि अनेरास्ववियुकी मुना बनिन् स्ववियु सभापति

काठमाडौं । स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित मिर्मी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सहमतिका आधारमा गठन भएको छ। एक महिनादेखि स्ववियु गठनको विषयमा क्याम्पसमा विवाद चलिरहेको थियो। विभिन्न राजनीतिक दलहरूसँगको छलफलपछि सहमति जुटाएर स्ववियु गठन गरिएको क्याम्पस प्रमुख रामप्रसाद पाण्डेयले बताए। उनले विगत एक महिनाको प्रयासपछि सहमति भएको जानकारी दिए।

स्ववियुको सभापतिमा अनेरास्ववियुकी मुना न्यौपाने चयन भएकी छन्। उपसभापतिमा नेविसङ्घकी प्रतिक्षा भट्टराई र कोषाध्यक्षमा नेविसङ्घकी सपना न्यौपाने चुनिएका छन्। सचिवमा अनेरास्ववियुका कशिस बस्याल र सहसचिवमा अनेरास्ववियु (क्रान्तिकारी) की सृष्टि कुँवर क्षेत्री चयन भएका छन्। निर्वाचन अधिकृत भीमप्रसाद श्रेष्ठले यो जानकारी दिए।

सदस्यहरूमा अनेरास्ववियुका दिपीका पाण्डेय, सिवानी थापा र रुकमाया सुनार, नेविसङ्घका अस्मिता पाण्डेय र भूमा न्यौपाने तथा अनेरास्ववियु (क्रान्तिकारी) की ईरिका न्यौपाने निर्वाचित भएका छन्। ११ सदस्यीय समितिमा अनेरास्ववियुबाट सभापतिसहित पाँच जना, नेविसङ्घबाट उपसभापतिसहित चार जना र अनेरास्ववियु (क्रान्तिकारी) बाट सहसचिवसहित दुई जना चुनिएका छन्। नवगठित स्ववियुका पदाधिकारी र सदस्यले बुधबार शपथ लिएर पदभार ग्रहण गरेका छन्।

स्ववियु गठनको विवादका क्रममा सञ्चालक समितिका १२ जनाले सामूहिक राजीनामा दिएका थिए भने राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप चलेको थियो। सहमतिपछि विवाद समाधान भएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस