२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

सगरमाथा आधार शिविरमा लेक लागेर ज्यान गुमाउने श्रमिक को हुन् ?

काठमाडौं । सगरमाथा आधार शिविरमा कार्यरत एक नेपाली श्रमिकको लेक लागेर ज्यान गएको छ। मृतक दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का ५५ वर्षीय लानिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले पुष्टि गरेको छ। शेर्पा खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको सगरमाथा बेस क्याम्पमा काम गर्दै आएका थिए।

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार चैत १७ गते साँझ ७:३० बजे शेर्पालाई लेक लागेर बिरामी भएपछि घोडामार्फत खुम्जुङ स्वास्थ्य चौकी लैजाने क्रममा चैत १८ गते थुक्लामा उनको निधन भएको हो।

शवलाई कानुनी प्रक्रिया पूरा गरी अल्टिच्युट हेलिकोप्टरबाट पोस्टमार्टमका लागि काठमाडौँको टिचिङ अस्पताल पठाइएको थियो। पोस्टमार्टमपछि चैत १९ गते मृतकका भतिजा पेमाछिरी शेर्पाले शव बुझेका छन्। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस