२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

ज्ञानेन्द्रवादीलाई कानुनमन्त्रीले देखाए राजा फर्काउने सजिलो बाटो

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामलामन्त्री अजयकुमार चौरसियाले राजावादी शक्तिलाई संविधान संशोधन गर्नको लागि दुई तिहाइ बहुमत ल्याउन चुनौती दिएका छन्। बिहीबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले जनताको समर्थन जितेर संविधानमा चाहिएका संशोधन गर्नका लागि राजावादी पक्षलाई स्पष्ट चुनौती दिएका हुन्।

“संविधानसभाबाट गणतन्त्र आएको हो, अब यो संविधान संशोधन गर्न चाहने पार्टीलाई दुई तिहाइ बहुमत ल्याउन जरुरी छ,” उनले भने।

मन्त्री चौरसियाले संविधानको संशोधनको अधिकार जनताले दिएको बताएका छन् र यदि राजावादी शक्तिले संविधानको संशोधनको चाहना राख्छ भने त्यसका लागि जनताको समर्थन आवश्यक पर्ने कुरामा जोड दिए।

यसैबीच, उनले तीनकुने घटनासम्बन्धी जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने उल्लेख गरे। मिडियामा क्रान्तिकारी कुरा गर्ने नेताहरूलाई सोध्दै उनले भने, “देशका लागि यस्ता क्रान्तिकारी क्रियाकलापहरू कत्तिको फाइदाजनक छन्, त्यस बारे सोच्न आवश्यक छ।”

मन्त्री चौरसियाले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक पार्टीहरूको विकल्प पनि राजनीतिक पार्टीहरू नै भएको बताएका थिए। उनले राजतन्त्रको पुनरुद्धारको प्रयास गर्नेहरूसँग सरकारको कुनै सम्झौता नहुने स्पष्ट पारे।

उनले २०५८ सालको घटनामा राजा वीरेन्द्रको वंश नाश पछि तत्कालीन सरकारका नेतृत्वकर्ताले ज्ञानेन्द्र शाहलाई राजा बनाएको कुरा सम्झाउँदै वर्तमान समस्याका लागि संसाधनको कमीले जनताको असन्तुष्टिलाई समाधान गर्न नसकेको स्वीकार गरे।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस