काठमाडौं । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिकाको रजतजयन्ती चोकबाट २२० ग्राम ब्राउनसुगरसहित पक्राउ परेका व्यक्तिहरूमा बिहार, रक्सौलका अमित कुमार श्रीवास्तव, किसन कुमार, सुधीर कुमार कुशवाहा र राजाकुमार यादव रहेका छन्।
विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा भारतीय नम्बरको स्कारपियो गाडी प्रयोग गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए। प्रहरीले उनीहरूको साथबाट बीआर ०६ बीई ०००७ नम्बरको स्कारपियो गाडी समेत बरामद गरेको छ।
हाल चारै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। अदालतबाट लागुऔषध मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

