काठमाडौँ । काठमाडौँ तीनकुनेबाट भागेका दुर्गा प्रसाईं झापाको काकडभिट्टा नाका हुँदै भारत छिरेको पुष्टि भएको छ । प्रहरीले उनी चढेको गाडी झापाको उनैकै स्वामित्वमा रहेको बीएन्डसी कलेजमा फेला पारी चालकसहित नियन्त्रणमा लिएको छ।
बीएबी ४२०८ नम्बरको स्कोर्पियो अहिले अपराध अनुसन्धान कार्यालय, टेकुमा राखिएको छ। घटनाका क्रममा प्रसाईं समर्थकले तीनकुनेमा हिंसा भड्काएका थिए। प्रहरीले अश्रुग्यास र गोली प्रहार गरेको थियो।
प्रसाईं आफ्ना सुरक्षाकर्मी र समर्थकको साथमा लुकेर धर्मगुरु पुष्कर खतिवडासँग भारत गएका थिए। काकडभिट्टासम्म उनी चालकभन्दा पछाडिको सिटमा बसेका थिए। यस घटनामा हालसम्म ६६ जना पक्राउ परिसकेका छन्। राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र धवल शमशेर राणासमेत हिरासतमा छन्। उनीहरूमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, र संगठित अपराधमा अनुसन्धान भइरहेको छ। प्रसाईंको खोजी जारी रहेको प्रहरीले जनाएको छ। भारत प्रवेश गर्दा मोबाइल टावर आउँदासम्म उनले अन्तिम कल धवल शमशेर राणालाई गरेको देखिएको छ ।

