२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

शिक्षकहरु वार्तामा बस्न अस्वीकार, आन्दोलनमै जोड दिने निष्कर्ष !

२२ चैत्र, काठमाडौँ । नेपाल शिक्षक महासंघले सरकारले बोलाएको वार्तामा बस्न अस्वीकार गरेको छ । वार्ताका लागि सिंहदरबारमा बोलाए पनि महासंघ वार्तामा उपस्थित नभएपछि शुक्रबार शिक्षकसँग छलफल गर्ने सरकारको प्रयास असफल भएको हो ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरुसँग छलफल गर्नका लागि फोनका साथै औपचारिक पत्र पठाए पनि महासंघ वार्तामा उपस्थित नभएको जानकारी दिइन् ।

महासंघलाई पत्र पठाएपछि कार्यवाहाक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षामन्त्री भट्टराई सहरी विकास मन्त्रालयमा पुगेर वार्ताको तयारी गरेका थिए । शिक्षकहरुको उपस्थिति नभएपछि वार्ता हालका लागि स्थगित गरिएको मन्त्री भट्टराईले बताइन् । उनले शिक्षकहरुको माग सम्बोधन गर्दै विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन सरकार तयार रहेको बताइन् ।

महासंघले भने विद्यालय शिक्षा विधेयकलाई छिटो अघि बढाउने एकमात्र मुद्दा रहेकाले वार्तामा बस्न आवश्यक नरहेको जनाएको छ। विद्यालय शिक्षा विधेयकलाई छिटो निष्कर्षमा पुराउनुपर्ने भन्दै देशभरका शिक्षकहरु काठमाडौँमा भेला भएर आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस