२२ चैत्र , काठमाडौँ । राष्ट्रिय जनमोर्चाले गणतन्त्र र राष्ट्रियताको रक्षा तथा संघीयताका विषयमा पार्टीको धारणा स्थापित गराउन यही चैत २४ गतेदेखि काठमाडौं केन्द्रित साताव्यापी अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र राष्ट्रियताको रक्षाको पक्षमा अभियान सञ्चालन हुने जानकारी दिए । काठमाडौँको तीनकुनेमा यही चैत १५ गते भएको घटनाले मुलुकमा प्रतिगमनको खतरा देखापरेका कारण राजधानी केन्द्रित पार्टी सचेतनासहितका कार्यक्रम गर्न लागेको उनले स्पष्ट पारे । त्यस अवसरमा पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण गणतन्त्रवादी शक्तिहरुबीच प्रतिगमनविरुद्ध सहकार्यको आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।’
सो पार्टीका उपाध्यक्ष एवं संविधानसभा सदस्य दुर्गा पौडेलले सरकार र संसद्को संख्यामा भएको वृद्धिले खर्चको भार बढेर आर्थिक रुपमा मुलुक सञ्चालनमा चुनौती परिरहेको तर्क गरे ।

