काठमाडौं । यही चैत २६ गते राजधानीको भृकुटीमण्डपमा हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आमसभामा राजसंस्थाको पक्षमा सक्रिय संयुक्त जनआन्दोलन समिति पनि सहभागी हुने भएको छ।
समितिका कार्यवहाक संयोजक डा. जगमान गुरूङले विज्ञप्ति जारी गर्दै राप्रपाको कार्यक्रमलाई समर्थन जनाउने घोषणा गरेका हुन्। उनले राष्ट्रिय झण्डासहित उपस्थित भई शान्तिपूर्ण सहभागिता जनाउन सबै राष्ट्रवादी तथा देशप्रेमी नागरिकहरूलाई आह्वान गरेका छन्।
‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नारासहित राप्रपाले सरकारविरुद्ध प्रदर्शन तथा बृहत् आमसभा गर्न लागेको हो। राजसंस्था पुनर्स्थापनाका मागहरूसहित देशभर सक्रिय विभिन्न समूह र अभियानकर्ताहरू पनि सो कार्यक्रममा देखिन सक्ने अनुमान गरिएको छ।
प्रकाशित मिति : २०८१ चैत्र २३ गते आइतवार

