२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

देउवाको खुलासा: योगीले दिल्लीस्थित दूतावासमै भने:-‘म राजा ल्याउने पक्षमा छैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्काउने पक्षमा भारत नरहेको स्पष्ट पारेका छन्। काठमाडौंमा गणेशमान सिंह फाउण्डेसनले आयोजना गरेको गोष्ठीमा बोल्दै उनले भारतले राजसंस्था पुनःस्थापनाका लागि उचाल्यो भन्ने हल्ला आधारहीन रहेको बताए।

‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पु¥याएको योगदान’ विषयक उक्त कार्यक्रममा देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि नयाँ दिल्लीस्थित नेपाली दूतावासमै गएर राजतन्त्र फर्काउने अभियानमा आफू संलग्न नरहेको प्रष्ट पारेको जानकारी गराए। “उहाँले आफैँ भन्नुभयो– म राजा ल्याउने पक्षमा छैन, नेपाली जनताले जे चाहन्छन्, त्यही हुन्छ,” देउवाले भने।

उनका अनुसार, आदित्यनाथको भनाइले भारत गणतन्त्र र प्रजातन्त्रको पक्षमा रहेको पुष्टि भएको छ। सभापति देउवाले नेपालमा प्रजातन्त्र स्थापना गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पुर्‍याएको योगदान उल्लेख गर्दै भने, “उहाँले नेपालमा प्रजातन्त्र स्थापनामा ठुलो सहयोग गर्नुभयो। चन्द्रशेखरजी आएपछि भारत प्रजातन्त्रविरुद्ध छैन भन्ने प्रमाणित भयो।”

सभापति देउवाले गणतन्त्र स्थापना भएको धेरै वर्ष नभएकाले राजनीतिक दलहरूले मिलेर यसलाई मजबुत बनाउनेतर्फ ध्यान दिनुपर्नेमा पनि जोड दिए।

प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस