काठमाडौं । हङकङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।
यसअघि नेपालले बुधबार कतारलाई ८ विकेटले हराएको थियो। बिहीबार टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १८.५ ओभरमै लक्ष्य भेट्टायो । त्यो पनि केवल ४ विकेट गुमाउँदै। नेपालको जितमा ओपनर कुशल भुर्तेल र आसिफ शेखको धमाकेदार अर्धशतक मुख्य योगदान रह्यो।
कुशल भुर्तेलले ५० बलमा ८१ रन बनाए। उनले ६ चौका र ६ छक्का प्रहार गरे। यो उनको टी–२० अन्तर्राष्ट्रिय करियरको १०औँ अर्धशतक हो। योसँगै दीपेन्द्रसिंह ऐरीको रेकर्ड समेत तोडिदिए । उनले यसअघि एक शतक पनि बनाइसकेका छन्। बुधबारको कतारविरुद्धको खेलमा पनि उनले १९ बलमा ३८ रनको योगदान दिएका थिए।
दोस्रो ओपनर आसिफ शेखले ३८ बलमा ५३ रन बनाए। उनले ४ छक्का र २ चौका प्रहार गरे। यो उनको सातौँ टी–२० अन्तर्राष्ट्रिय अर्धशतक हो। उनले कतारविरुद्ध पनि २१ बलमा ३३ रन बनाएका थिए। भुर्तेल र शेखबीच पहिलो विकेटका लागि १२७ रनको साझेदारी भएको थियो।
ओपनरहरू आउट भएपछि कुशल मल्ल (४ रन) र गुलसन झा (९ अविजित रन) ले संक्षिप्त योगदान दिए। तर, पाँचौँ नम्बरमा आएका दीपेन्द्रसिंह ऐरीले १२ बलमा ३१ रन बनाउँदै नेपालको जित सुनिश्चित गरे। उनले एक ओभरमा मात्र ३ छक्का र १ चौकासहित २५ रन बटुले। कप्तान रोहित पौडेल ४ रनमा अविजित रहे।
कुवेतका लागि क्लिन्टो एन्टोले ४१ रन, मित भावसरले ३५, बिलाल ताहिरले १३ बलमा ३२ रन, रविजा सन्दरुवनले २६, मोहम्मद असलमले १७, र उसमान पटेलले १३ रन बनाएका थिए। नेपालका लागि सोमपाल कामीले ३ विकेट, नन्दन यादवले २ विकेट, तथा ललित राजवंशी र कुशल भुर्तेलले १–१ विकेट लिए।
चार राष्ट्र सम्मिलित यो शृंखलामा नेपाल, कुवेत, आयोजक हङकङ र कतार सहभागी छन्। नेपालले आफ्नो तेस्रो खेल शनिबार आयोजक हङकङविरुद्ध खेल्नेछ। लिग चरण सकिएपछि अंक तालिकाको शीर्ष दुई टोलीबीच फाइनल हुनेछ भने बाँकी दुई टोली तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। फाइनल आइतबार खेलिनेछ।

