काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सतर्क रहन साइबर ब्यूरोले आग्रह गरेको छ।
ब्यूरोले सूचना जारी गर्दै फेसबुक, इन्स्टाग्राम, म्यासेन्जर, ह्वाट्सएपजस्ता प्लेटफर्ममार्फत पठाइने शंकास्पद लिङ्क नखोल्न र त्यस्ता लिङ्कमा क्लिक गरी व्यक्तिगत विवरण सेयर नगर्न आग्रह गरेको हो। साथै, मोबाइल, ल्यापटप वा अन्य उपकरणमा कुनै पनि अनधिकृत एप वा सफ्टवेयर इन्स्टल नगर्न चेतावनी दिएको छ।

प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार अनलाइन माध्यमबाट लोन भुक्तानी, सेयर तालिमको नाममा झुटा सूचना पठाएर सफ्टवेयर इन्स्टल गराउन खोज्ने समूह सक्रिय छन्। उनले यस्ता लिंक खोल्नाले तपाईँको मोबाइल वा बैंक खाताको सम्पूर्ण विवरण हैक हुने खतरा रहेको बताए।
साइबर ब्यूरोले सबैलाई यस्ता अनलाइन ठगीबाट जोगिन सजग रहन र कुनै पनि शंकास्पद म्यासेज प्राप्त भएमा तुरुन्त नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

