काठमाडौं । तीनकुने हिंसात्मक प्रदर्शनपछि फरार रहेका विवादास्पद व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेको चर्चाकाबीच फरक-फरक तथ्य बाहिर आइरहेका छन् । केही समय अघि उनको सचिवालय भन्दै उनले नियमति अपडेट गर्ने फेसबुकबाट भारतको आसाम प्रहरीमा आत्मसमर्पण गरेको सूचना आएको थियो ।
नेपाल प्रहरीले भने त्यसको खण्डन गर्यो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्रसाईं पक्राउ नपरेको बताए । विज्ञप्ति नै निकालेर उनले मिथ्या सूचना नदिन अपिल समेत गरे ।

भर्खरै फेरि राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिको प्रवक्ता भन्दै अधिवक्ता समेत रहेका स्वागत नेपालले आत्मसमर्पण नभई नेपाल छिर्न सुरक्षा मागेको बताएका छन् । उनले विज्ञप्तिमा लेखेका छन् ।
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाको लागि आह्वान चैत्र २८, २०८१
राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाऔं महाअभियानका संयोजक दुर्गा प्रसाईंले भारतीय प्रहरी समक्ष आफ्नो ज्यानको सुरक्षा सहित नेपाल प्रवेश गर्न सहयोग गरिदिन अनुरोध गरेपछि इण्डियाको आसामको गुवाहाटीबाट नेपालको सीमासम्म ल्याईपुर्याउने कार्यमा भारतीय प्रहरीले सहयोग गरेकोमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त राष्ट्रिय जनआन्दोलन समिति धन्यबाद ज्ञापन गर्दछ ।
उहाँले आत्मसमर्पण गर्नु भएको होइन, नेपालसम्म सुरक्षित पुर्याइदिन आफैँ अनुरोध गर्नु भएको हो । सरकारले काठमाडौंको तीनकुनेको शान्तिपूर्ण कार्यक्रमबाट आफै लखेटेर फरार रहेको बताइरहेको अवस्थामा नेपाल फर्कँदै गर्दा नेपाल प्रहरीले उहाँ नेपाल फर्कीरहेको आफूहरुलाई जानकारी नरहेको प्रतिक्रिया दिएको अवस्थामा उहाँको नेपाल प्रवेशसँगै ज्यान खतरामा रहेको र बेपत्ता समेत पारिन सक्ने स्थिति भएको हुँदा राष्ट्रिय अन्तराष्ट्रिय मानव अधिकारवादी संघ संस्था, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरुलाई उपस्थित भई उहाँको ज्यानको सुरक्षाको प्रत्याभूतिका लागि भूमिका निर्वाह गरिदिनु हुन हामी अपिल गर्दछौं ।
उहाँ क्यान्सरको विरामी र अदालतको तारिकमा समेत रहेको हुँदा उहाँलाई सुरक्षित रुपमा अस्तालसम्म पुर्याउन र अदालतसम्म हाजिर हुनका लागि समेत सहयोग गर्न हामी राष्ट्रिय मानव अधिकार आयोग र सरकार समक्ष समेत अनुरोध गर्दछौं ।
स्वागत नेपाल
प्रवक्ता,
संयुक्त जनआन्दोलन परिचालन समिति

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार

