२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

काठमाडौंमा किन भयो दिउँसै अध्यारो

काठमाडौं । काठमाडौंमा शनिबार बिहानैदेखि वर्षा भएको छ। बिहानीपख आकाश खुले पनि ७ बजेपछि काठमाडौंको आकाश अँध्यारिँदै वर्षा भएको हो।

बिहान ७ बजे केहीबेर घाम देखिएको थियो। लगत्तै हावाहुरीसहित वर्षा सुरू भएको हो। अहिले काठमाडौंको कीर्तिपुर, पानीपोखरी, बूढानीलकण्ठ लगायत अधिकांश ठाउँमा वर्षा भइरहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए।

अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावा पश्चिमी भूभाग हुँदै काठमाडौंसम्म आइपुगेका कारण वर्षा भएको हो। स्थानीय वायु, पश्चिमी वायु र भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव पनि सामान्य छ। ‘विशेषगरी अरब सागरबाट भित्रिएको जलवाष्पपुक्त हावा तीव्र गतिमा अगाडि बढ्दा काठमाडौंसम्म प्रभाव परेको हो,’ मौसमविद दाहालले भने।

उनका अनुसार गण्डकी र बागमती प्रदेशका पहाडी भूभागहरुमा अहिले वर्षा भइरहेको छ। काठमाडौंमा आज दिनभर मौसम बदली रहने पूर्वानुमान छ। बेलाबेला पानी पर्ने र रोकिने क्रम पनि चल्ने मौसमविद दाहालले बताए।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस