२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

प्रचण्डका पीडा : एउटा मान्छे नपिटेको मलाई १७ हजारको हत्यारा बनाए

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई “१७ हजारको हत्यारा” भन्ने आरोपबारे गुनासो गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले आफूले कहिल्यै कुनै व्यक्तिलाई पिटेको नरहेको स्पष्ट पारे।

प्रचण्डले भने, ‘एकथरी मानिसहरू इतिहासलाई पछाडि धकेल्न चाहनेले १७ हजारको हत्यारा भनिरहँदा होइन यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो। राज्यपक्ष र विद्रोहीले कति गर्‍यो भन्ने कुरा अध्ययन गर्न सकिन्छ। आजभोलि त प्रचण्डले भन्न थालिएको छ। मैले एक जनालाई पनि पिटेको छैन अहिलेसम्म। हत्याको त कुरै छाडौं व्यक्तिको कुरा गर्ने हो भने। युद्धको नेतृत्व मैले गरेको हो शान्तिमा आएपछि सबै कुराको जिम्मा लिन्छु भनेकै छु।’ उनले युद्धको नियमअनुसार दुबै पक्षबाट घटनाहरू भए पनि माओवादी केन्द्रको पक्षबाट शान्ति प्रक्रियामा सबैभन्दा बढी जोखिम लिएको बताए।

हतियार व्यवस्थापन र शान्ति प्रक्रिया लागू गर्न आफूले नै सबैभन्दा बढी जोखिम मोलेको उनको भनाइ थियो। उनले पार्टी पंक्तिबाट यसका विरुद्ध कुनै खण्डन नदेख्दा गुनासो गरे। अध्यक्ष प्रचण्डले आफूमाथि लगाइएका आरोपहरूलाई उल्टो प्रचारको हिस्सा भन्दै तिनीहरूको विरोध गर्न सबैलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस