२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

फेसबुक, युटुव र एक्स दर्ता गर्ने समय सकिँदै, सामाजिक सञ्जाल अब चलाउन पाईदैन ?

३१ चैत्र , काठमाडौँ । फेसबुक लगायतका विदेशी सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालमा दर्ता हुनका लागि सरकारले गरेको आह्वानलाई बेवास्ता गरेका छन् ।फेसबुकको मातृ कम्पनी मेटा र ट्विटरलाई सञ्चार मन्त्रालयले दुईपटक पत्र पठाइसके पनि जवाफ नआएको अधिकारीहरूले बताए ।

शुक्रवार रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले तत्काल दर्ता हुन नआएमा नेपालमा फेसबुक बन्द गरिदिने चेतावनी दिएका थिए । सञ्चार मन्त्रालयले पछिल्लो पटक चैत ७ गते सूचना निकालेर ३० दिनभित्र दर्ता हुन भनिएको थियो । त्यसैले सरकारले दिएको म्याद नै वैशाख ७ सम्म हो ।

नेपालमा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० को दफा ५ मा सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि तोकिएका कागजातसहित निवेदन दिनुपर्ने व्यवस्था छ ।

निर्देशिकाले उल्लेखित व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमनको परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधान पनि राखिएको छ । यी प्रावधानहरूलाई स्वीकार्दै अहिलेसम्म टिकटक, भाइबर र विटोक गरी तीनवटा सामाजिक सञ्जाल प्लेटफर्म मात्रै दर्ता भएका छन् । टिकटक र भाइबर विदेशी हुन् भने विटोक नेपाली प्लेटफर्म हो ।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस