काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले युरोप भ्रमणको क्रममा लक्जेम्बर्गस्थित युरोपियन युनियनको सर्वोच्च अदालत कोर्ट अफ जस्टिस अफ द युरोपियन युनियन मा स्थानीय तहमा उत्पन्न हुने विवाद समाधानका विषयमा नेपाली अनुभव साझा गरिन्।
उपप्रमुख डङ्गोलले काठमाडौँ महानगरपालिकामा विवाद समाधानको लागि अपनाएको छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष र जनउत्तरदायी विधि र प्रक्रियाबारे अनुभव सुनाइन्।
उनले भनिन्, ‘हामीले सबैका लागि न्यायमा सहज पहुँच सुनिश्चित गर्ने, स्वच्छता, निष्पक्षता, समानता र समन्यायपूर्ण न्यायिक पद्धतिलाई कसरी आत्मसात् गर्दै आएको छ, त्यसबारे मैले अनुभव बाँडेँ।’
उपप्रमुख डङ्गोललाई युरोपियन युनियनले असल अभ्यास आदानप्रदानको उद्देश्यले बेल्जियममा आमन्त्रण गरेको थियो। यस अवसरमा उनले युरोपियन युनियनको न्याय प्रणालीको प्रत्यक्ष अवलोकन गर्न र चर्चा गर्ने मौका पाइन्।
अनुभव आदानप्रदानको क्रममा उनले नेपालमा स्थानीय न्यायिक अभ्यास, इजलास, मेलमिलाप र वैकल्पिक विवाद समाधान अभ्यासबारे पनि जानकारी गराउने अवसर प्राप्त गरेको बताइन्।

