७ बैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज काठमाडौंमा हुने प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालयलगायतका क्षेत्रमा अरु दिनको तुलनामा आज सुरक्षाकर्मी बाक्लो संख्यामा खटाइएको छ । प्रदर्शनस्थल र अन्य कार्यक्रम नतोकी राप्रपाले निषेधित क्षेत्र तोड्ने चेतावनी दिएपछि उपत्यकाभरका प्रहरीलाई ‘स्ट्याण्डबाई’ ड्युटीमा राखिएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार आम नागरिकको दैनिक जीवन प्रभावित नहुने गरी प्रहरी ड्युटी खटाइएको छ । त्यसक्रममा बिहानैदेखि निषेधित क्षेत्रको सुरक्षाका लागि ‘सर्च एण्ड कर्डन’ ड्युटीमा प्रहरीलाई खटाइएको छ ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेक तामाङले राप्रपाको प्रदर्शनलाई लक्षित गरी सुरक्षा रणनीति तयार जानकारी दिएका छन् । त्यसका लागि आवश्यक सुरक्षाकर्मीहरुलाई विभिन्न ठाउँमा परिचालन गरिएको जानकारी पनि दिए । उनका अनुसार निषेधित क्षेत्र तोड्न नदिने र यदि तोड्ने प्रयास भए बल प्रयोग गर्नेसम्मको तयारी छ ।

