काठमाडौं । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा आतंकवादी हमलामा परेर ज्यान गुमाएका बुटवल–११ कालिकानगरका २७ वर्षीय सुदीप न्यौपानेको शव आज बिहान घर ल्याइएको छ। शव आजै त्रिवेणी घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
सुदीपको शव नयाँदिल्लीबाट लखनउ हुँदै बेलहिया नाका ल्याइएको थियो। बिहान ७ बजे नाकामा ल्याइएपछि भारतीय सुरक्षाकर्मीको रोहबरमा नेपाली पक्षलाई जिम्मा दिइएको थियो। त्यसपछि शव एम्बुलेन्समार्फत घर ल्याइएको हो।
शनिबार आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसँग घुम्न गएका सुदीपको मंगलबार दिउँसो आतंकवादीले गोली हानी हत्या गरेका थिए। आमा, बहिनी र ज्वाइँ भने भागेर ज्यान जोगाउन सफल भएका थिए।
आमासँग बस्दै आएका सुदीपको मृत्युले टोलमा शोक छाएको छ। शिक्षक आन्दोलनमा काठमाडौंमा रहेका बुवा ध्रुव न्यौपानेले बाटोमै छोराको निधनको खबर थाहा पाएका थिए।

