काठमाडौँ । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अब सार्वजनिक शिक्षाको सवलिकरणमा केन्द्रित हुने बताएकी छन् ।
शिक्षामन्त्रीबाट राजीनामा दिएपछि केही दिन सम्पर्क बाहिर रहेकी भट्टराईले नवनियुक्त मन्त्री रघुजी पन्तलाई बधाई दिँदै सामाजिक सञ्जालमार्फत आफ्नो भावी यात्रा सार्वजनिक गरेकी हुन् ।
फेसबुकमा स्टाटस लेख्दै उनले भनिन्, ‘अबको मेरो यात्रा सार्वजनिक शिक्षाको सवलिकरण, अनुसन्धान, विज्ञान तथा प्रविधिमा आधारित सबैका लागि गुणस्तरीय शिक्षामा रहनेछ ।’
झन्डै ९ महिना मन्त्रालय सम्हाल्दा शिक्षा क्षेत्रमा सुधार ल्याउने प्रयास गरेको स्मरण गर्दै उनले सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् । साथै, आफ्नो नेतृत्वमा सरकार सञ्चालनको अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत आभार प्रकट गरेकी छन् ।
प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार

