२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

कांग्रेस महामन्त्री शाह सवार गाडी दुर्घटनामा पर्‍यो

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कमिटीका महामन्त्री नरनारायण शाह (मनु) सवार गाडी आइतबार भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लाको खुटारमा दुर्घटना भएको छ।

शाह परिवारका अन्य सदस्यसहित यात्रा गरिरहेकै बेला उनी चढेको गाडी बससँग ठोक्किँदा दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा घाइते भएका शाहको अहिले शाहजहाँपुरस्थित एक अस्पतालमा उपचार भइरहेको नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिएका छन्। शाहसँगै घाइते भएका अन्य दुई जनाको समेत सोही अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, अन्य तीन घाइतेलाई उपचारका लागि नेपालतर्फ धनगढी ल्याइँदैछ। दुर्घटनामा महामन्त्री शाहको अवस्था खतरामुक्त रहेको बताइएको छ।

यता, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले भने घटनाबारे औपचारिक जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस