काठमाडौं । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य अब फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन पोखरेलका अनुसार, आज (आइतवार) देखि लागू हुने गरी अण्डाको मूल्य वृद्धि गरिएको हो। नयाँ मूल्यअनुसार एक्सएल अण्डा प्रति क्रेट ४२५ रुपैयाँ, ठूलो अण्डा प्रति क्रेट ४०३ रुपैयाँ र मिडियम अण्डा प्रति क्रेट ३६६ रुपैयाँ पर्नेछ।
गत वर्ष अण्डाको मूल्य ५२५ रुपैयाँ प्रति क्रेट पुगेको थियो, तर पछिल्लो समय मूल्य घटेर ३५० रुपैयाँसम्म झरेको थियो। गर्मीका कारण कुखुरामा रोगहरूको प्रभाव र बजारको बढ्दो मागले अहिले अण्डाको मूल्य बढाइएको छ। अण्डा बिक्रीका लागि चितवनलाई आधार मानी न्यूनतम समर्थन मूल्य तोकिएको हो।
नयाँ मूल्यअनुसार एक्सएल अण्डा प्रति पेटी (सात क्रेट) ३,१४० रुपैयाँ, ठूलो अण्डा ३,००० रुपैयाँ र मिडियम अण्डा २,६५० रुपैयाँ पर्नेछ। यस अघि मूल्य चर्किएर ठूलो अण्डा प्रति पेटी ३,६७५ रुपैयाँसम्म पुगेको थियो।
कुखुरापालक किसानहरूले अण्डाको उत्पादनमा लागत मूल्यसमेत नपाएको कारण ठूलो संकटको सामना गरेका छन्। अहिले ७५ प्रतिशत किसान विस्थापित भइसकेका छन्। धेरै कुखुरा फार्महरू बन्द भएका छन्, र उत्पादन घटेर दैनिक ३० लाख अण्डाबाट २२ लाख गोटा मात्र उत्पादन भइरहेको छ।
अण्डा उत्पादनको मुख्य स्रोत लेयर्स कुखुरा पालन हो, र नेपालमा हाइलाइन, लाह्म्यान, एचएचएन, हासेक्स, नोभोजेन जस्ता जातका कुखुरा पालिन्छन्। अहिले बजारमा मूल्य वृद्धि भएपनि किसानहरूले राहत महसुस गरेका छन्, तर उत्पादन घट्नु र किसानहरूको अस्तित्वमा ठूलो असर पर्न थालेको छ।

