२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

लामो समयपछि एकसाथ देखिए थापा-लिङ्देन, हिन्दु राष्ट्र र राजसंस्थाका लागि एकै स्वर

काठमाडौं । लामो समयपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा एउटै मञ्चमा देखिएका छन्। दुवैले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि साझा स्वरमा आह्वान गरेका छन्।

सोमबार काठमाडौंको शान्तिबाटिकामा आयोजित सभामा सहभागी भएका लिङ्देनले सबै देशभक्त र राष्ट्रवादी शक्तिहरूलाई आग्रह–पूर्वाग्रह त्यागेर एकजुट हुन अपिल गरे। ‘सबै देशभक्त शक्तिहरू आग्रह–पूर्वाग्रह त्यागेर देशलाई निकास दिन अघि बढौं। राप्रपा सधैं मिलेर काम गर्न तयार छ,’ लिङ्देनले भने।

विगतमा पार्टी विभाजनपछि प्रतिद्वन्द्वी बनेका थापा र लिङ्देन राजसंस्था पुनर्स्थापनाको साझा एजेन्डाले फेरि नजिकिएका हुन्।

सभामा कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना नयाँ ढंगले अघि बढाइने घोषणा गरे।
‘अब हिन्दु राष्ट्र स्थापनाको अभियान नयाँ शैलीमा र सशक्त ढंगले अघि बढ्छ,’ थापाले भने, ‘यो देशमा भ्रष्टाचार, कुशासन र निरंकुशताको अन्त्यका लागि हिन्दु राष्ट्र अपरिहार्य भएको छ।’

थापाले तीनकुनेमा आयोजित राजावादी प्रदर्शनको क्रममा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहितका नेताहरूको रिहाइको माग पनि गरे। उनले तीनकुने घटनालाई हिंसात्मक बनाउने षड्यन्त्र सरकार स्वयंले रचेको दाबी गरे।

‘सरकारका षड्यन्त्र जनताले बुझिसकेका छन्,’ थापाले भने, ‘अब हिन्दु राष्ट्र स्थापनाको अभियान रोक्न सकिँदैन।’ सभामा दुवै नेताले सिंगो राष्ट्रलाई आशाको किरण देखाउन सबै देशभक्त शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति : २०८२ बैशाख १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस