२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

यी दुई विधेयक पारित गरेर संसद बैठक शुक्रबारसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार अपराह्न ५ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुख देवराज घिमिरेले आजको बैठक समापन गर्दै अर्को बैठक तोकिएको समयसम्म स्थगित गरेका हुन्।

आजको बैठकमा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा धारणा राखेका थिए। बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ र ‘भन्सार विधेयक, २०८१’ बहुमतले पारित भएका छन्।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको संशोधन विधेयक पारित गर्न सांसदहरूले समर्थन जनाए। उनले विधेयकले प्रचलित कानुनमा रहेका प्राविधिक त्रुटि सुधार गरी सुशासन, दिगो विकास र वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

त्यस्तै, अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको भन्सार विधेयक पनि बहुमतले पारित भयो। छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले भन्सार क्षेत्रका बेथिति हटाउन र कानुनी प्रणालीलाई एकीकरण गर्न विधेयक ल्याइएको बताए।

अब यी विधेयकहरू राष्ट्रिय सभामा पठाइनेछ, जहाँ पारित भएपछि प्रतिनिधिसभामा फिर्ता ल्याइनेछ। त्यसपछि सभामुखमार्फत राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ। प्रमाणीकरणपछि यी विधेयकहरू ऐनका रूपमा कार्यान्वयनमा आउनेछन्।

प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस