काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा बर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति र गते मंगलबार दिनभरको मौसम पूर्वानुमान अनुसार, नेपालका अधिकांश भागमा आंशिकदेखि साधारणतया बदली देखिएको छ।
विशेष गरी पहाडी र हिमाली भू-भागहरूमा हल्का बर्षा र हिमपातको सम्भावना रहेको छ भने तराई क्षेत्रका कतिपय स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
सोमबार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ र एक–दुई स्थानमा हल्का हिमपात हुनसक्छ। यी प्रदेशका पहाडी र तराई क्षेत्रहरूमा पनि आंशिकदेखि साधारणतया बदली रहनेछ र केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। मधेश प्रदेशमा पनि आंशिकदेखि साधारणतया बदली रहने र थोरै स्थानहरूमा वर्षा हुनसक्ने देखिएको छ।
मंगलबार दिउँसो अधिकांश प्रदेशका हिमाली क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहने र थोरै स्थानहरूमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी र तराई भू-भागमा पनि बदली अवस्था कायम रहनेछ भने एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। मधेश प्रदेशमा पनि एक–दुई स्थानमा वर्षा सम्भावना देखिएको छ।
मंगलबार राति पनि देशका अधिकांश भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। हिमाली र पहाडी भू-भागमा केही स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने भए तापनि एक–दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुनसक्छ।
मौसमविद्हरूका अनुसार, मेघगर्जन र चट्याङ्गको सम्भावना उच्च रहेकाले सावधानी अपनाउन सुझाव दिइएको छ। यात्रामा निस्कनुअघि वा बाहिरी क्रियाकलापमा संलग्न हुनुअघि मौसमको पछिल्लो जानकारी लिनु उपयुक्त हुनेछ।

