२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

धनकुटा बस दुर्घटना : मृतकको संख्या तीन पुग्यो, १२ जनाको उपचार हुँदै

"One killed and 12 injured in a bus accident in Sindhuli."

२३ बैशाख, विराटनगर । धनकुटामा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका भोजपुरको षडानन्द नगरपालिका– १३ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि बस चालक सुनसरीको धरान उपमहानगरपालिका– १३ का ५१ वर्षीय रुद्र तामाङ र धनकुटा नगरपालिका– ६ कि ७३ वर्षीया कृष्ण कुमारी राई भुजेलको मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चालकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । कृष्णकुमारीको जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठको पनि उपचारको क्रममा धरानमा मृत्यु भएको प्रहरी जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सोमबार बिहान धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको बस धनकुटा नगरपालिका– ६ मा दुर्घटना हुँदा १५ जना घाइते भएका थिए । दुर्घटनामा घाइते भएकामध्ये थप २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते १२ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । उकालो चढ्ने क्रममा एयर पाइप फुटेर ब्रेक नलाग्दा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल धनकुटा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस