२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

एमालेले किन खोस्यो पूर्वमन्त्री बलबहादुरको जिम्मेवारी?

काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशका पूर्वमन्त्री तथा ताप्लेजुङ जिल्ला कमिटीका पूर्वअध्यक्ष बलबहादुर साम्सोहाङ र युवा नेता मणि पोमुको पार्टी जिम्मेवारी खोसेको छ।

दश बुँदे पक्षधर साम्सोहाङ एमाले सचिव योगेश भट्टराईसँग निकट मानिन्छन्। गत वैशाख १८ गते ताप्लेजुङमा सम्पन्न युवा संघको जिल्ला अधिवेशनमा तोडफोड र हातपातमा संलग्न भएको आरोपमा उनीहरूमाथि कारबाही गरिएको हो।

उनीहरूविरुद्ध जिल्ला कमिटी र युवा संघले उजुरी दिएपछि प्रदेश कमिटीले दुवै नेतालाई निलम्बन गर्दै छानबिन सुरु गरेको एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए। छानबिनका लागि टीकाराम चेम्जोङको संयोजकत्वमा समिति गठन गरिएको छ, जसलाई एक महिनाको समय दिइएको छ।

साम्सोहाङ १२औं जिल्ला अधिवेशनमा संस्थापन पक्षका डम्बरध्वज तुम्बाहाम्फेसँग अध्यक्ष पदमा पराजित भएका थिए। हाल उनी प्रदेश सल्लाहकार परिषद सदस्य र पोमु पर्यटन विभाग सदस्य रहेका छन्।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस