२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

राजाले देश कंगाल बनाए, हामीले ३० वर्षमै विकास गर्‍यौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाउँदै पछिल्लो तीन दशकमा उल्लेखनीय विकास भएको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै ओलीले देशलाई गरिब बनाउनेहरूले नै अहिले ‘हामी आउँछौं, साथ देऊ’ भन्न थालेकोमा अचम्म लागेको बताए। उनले भने, ‘यो देशलाई कंगाल बनाउने यिनै हुन्, अहिले ३० वर्षमा देशले उल्लेखनीय विकास गरेको छ।’

प्रधानमन्त्री ओलीले देशलाई शुद्ध, पवित्र र स्वच्छ बनाउने जिम्मेवारी अहिलेको पुस्ताको भएको उल्लेख गरे। उनले नेपाललाई देवभूमि र अक्सिजनले भरिएको ठाउँ भन्दै यहाँ ‘फोक्साको व्यापारी’ कसरी आयो भनेर प्रश्न पनि उठाए।

उनले भने, ‘हामी देश बनाउनै पर्छ, देशलाई विकसित बनाउनै पर्छ। देशलाई बस्न लायकको बनाउनुपर्छ, वातावरणीय हिसाबले हेर्नुस्, हिमाल, पहाड छन्, यस्तो स्वच्छ, पवित्र छ। यो त देवभूमि हो। यस्तो ठाउँ, अक्सिजन नै अक्सिजन भएको ठाउँ छ। यस्तो देशमा फोक्साको व्यापारी? कहाँबाट आयो यो फोक्साको व्यापारी नेपालमा।’

प्रधानमन्त्री ओलीले देशलाई उपचार गर्ने पुस्ता अहिलेको रहेको बताए। उनले अहिलेको पुस्ताले शुद्ध, पवित्र, स्वच्छ र सुखयुक्त देश बनाउनुपर्ने बताए।

प्रकाशित मिति : २०८२ बैशाख २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस