२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

श्रीलंकालाई हराउँदै साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल

२८ बैशाख, काठमाण्डौँ । नेपाल भारतमा जारी साफ यू-१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको अरुणाञ्चलमा भएको खेलमा नेपालले श्रीलंका माथि ५(० को रवाफिलो जित सहित सेमिफाइनलमा स्थान बनाउन सफल भयो । नेपाल समूहको अन्तिम एक खेल अगावै सेमिफाइनलमा पुगेको हो। यो समूहबाट नेपाल र भारत सेमिफाइनलमा प्रवेश गर्दा श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अरुणाञ्चलको गोल्डेन जुबिली रंगशालामा श्रीलंका विरूद्ध नेपालले पहिलो हाफमा एकपक्षीय रुपमा खेलमा हावी हुँदै दबाब बनायो। तर अग्रताका लागि भने पहिलो हाफको इन्जुरी समय सम्म कुर्नु परेको थियो । इन्जुरी समयको चौथो मिनेटमा राम थापाको लामो क्रसमा सुजन डंगोलले बक्सभित्रबाट उत्कृष्ट गोल गर्दै नेपाल पहिलो हाफमा १-० ले अघि रह्यो । दोस्रो हाफमा नेपालले थप ४ गोल गर्यो। सुभाश बमको क्रसमा डिफेन्डरहरूले क्लियर गर्न नसकेको बलमा धर्मेन्द्र कुँवरले बक्सभित्रबाट गोल गर्दै अग्रता दोब्बर बनाउँदा ७७ औं मिनेटमा सुभाशले टिमको अग्रता बढाएका थिए ।

९० औं मिनेटमा सुजनको क्रसमा सब्स्टिच्युट विज्ञान खड्काले गोल गरे । नेपाल यतिमा मात्र रोकिएन । इन्ज्युरी समयको चौथो मिनेटमा लक्षु थापाले करिब २५ यार्ड टाढाबाट हानेको फ्रिकिक प्रहार सिधै गोलमा परिणत भएको थियो । समूह ‘बी’ को पहिलो खेलमा भारतले श्रीलंकालाई ८-० ले हराएको थियो। नेपालले मंगलबार भारतको सामना गर्नेछ । त्यो खेलले समूह विजेताको तय हुने छ। नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र सन् २०१७ को यू १८ उमेर समूहको संस्करण जितेको थियो। पछिल्लो पटक भने नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस