काठमाडौं । काठमाडौं महानगरपालिकाका तीन जना वडाध्यक्षले मेयर बालेन्द्र शाह (बालेन)ले तोकेको जिम्मेवारी लिन अस्वीकार गरेका छन्। उनीहरूले कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको भन्दै संयोजक पदमा बस्न नमिल्ने स्पष्ट रूपमा जनाएका छन्।
वडा नं. २ का अध्यक्ष दलबहादुर कार्की, वडा नं. १६ का अध्यक्ष बीरेन्द्र प्रजापति र वडा नं. २३ का अध्यक्ष विनोद राजभण्डारीले सामूहिक पत्रमार्फत जिम्मेवारी अस्वीकार गरेका हुन्।
मेयर बालेनले कार्कीलाई सुशासन समिति, प्रजापतिलाई सूचना प्रविधि समिति र राजभण्डारीलाई सम्पदा तथा पर्यटन समितिको संयोजक तोकेका थिए। तर ती जिम्मेवारी कार्यपालिकाको बैठकबाट अनुमोदन नहुँदा उपयुक्त नदेखिएको उनीहरूको भनाइ छ।
‘महानगर प्रमुखको सचिवालयबाट मिति २०८२ जेठ १ गते प्राप्त पत्रअनुसार तोकिएको जिम्मेवारी सम्बन्धित बैठकबाट पारित नभएकाले हामी तोकिएको समितिको संयोजक जिम्मेवारीमा रहन सक्दैनौं,’ पत्रमा उल्लेख छ।
तीन वडाध्यक्षको यस कदमलाई मेयरको एकल निर्णयविरुद्धको स्पष्ट असहमति र संस्थागत प्रक्रियामा जोड दिने प्रयासको रूपमा हेरिएको छ। बालेन नेतृत्वको शैली र निर्णयप्रति महानगरभित्रै असन्तुष्टि बढ्दै गएको विश्लेषकहरूले बताउन थालेका छन्।

