काठमाडौँ । गभर्नर विश्वनाथ पौडेलले एक हजार र ५० रूपैयाँको नोट छाप्ने निर्णय गरेका छन् ।
पौडेलले गरेको पहिलो निर्णयको जानकारी दिँदै डेपुटी गभर्नर बमबहादुर मिश्रले भने, अहिले गर्नुभएको पहिलो निर्णयमा एक हजार र ५० रूपैयाँको नोट छाप्ने उल्लेख छ । यो निर्णय अनुसार पहिले डिजाइन समितिले डिजाइन तयार गर्छ । डिजाइन समितिबाट पारित भएको डिजाइन सञ्चालक समितिबाट निर्णय भएपछि नोट छाप्ने प्रक्रिया अगाडि बढ्छ ।
नोट छाप्ने नियमित प्रक्रिया अनुसार नै पहिलो निर्णय भएको हो । विशेष गरेर पाँच सय र एक हजारभन्दा माथिका एउटा नोटको आयु ४ देखि पाँच वर्षको हुन्छ । साना नोटको आयु भने करिब तीन वर्षको हुन्छ । नेपाल राष्ट्र बैंकले हालै मात्र चलनचल्तीका नोट छाप्न पहिलो चरणमा ६ कम्पनी छनोट गरेको छ ।
पहिलो चरणमा छनोट हुनेमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ छानिएका थिए ।
छनोट भएका यी सबै कम्पनीले आगामी दुई वर्षसम्म हरेक पटकको छपाइको बोलकबोल प्रक्रिया टेण्डरमा प्रतिस्पर्धा गर्न सक्नेछन् ।

