काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी धर्मपत्नी विमला महतको निधन भएको छ।
उनी करिब डेढ वर्षदेखि मायोसाइटिस रोगबाट पीडित थिइन्। पण्डितका अनुसार विमलाको निधन गएराति पौने एक बजे भएको हो।
विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको थियो। उनी २०५४ सालको निर्वाचनमा सैँबु गाविस वडा नम्बर ४ (हाल ललितपुर महानगरपालिका–२५) बाट वडाध्यक्ष निर्वाचित भएकी जनप्रतिनिधि थिइन्।
लालबाबु पण्डितसँगको विवाह २०५९ सालमा नेकपा एमालेको बल्खुस्थित पार्टी कार्यालयमै जनवादी शैलीमा भएको थियो। सो विवाह कार्यक्रममा महासचिव माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, भरतमोहन अधिकारीलगायत नेताहरू सहभागी थिए।
पण्डितले जनवादी विवाहका लागि ‘ए फोर साइज’को कागजमा चारवटा निमन्त्रणा बनाएर फोटोकपी गरी बाँडेको स्मरण गरेका छन्। विमला पनि नेतृ भएकाले पार्टी र साथीहरूको सहकार्यमा उनीहरूबीच विवाह सम्भव भएको उनले उल्लेख गरेका छन्।

