२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

रहेनन् ‘हटेर होइन, डटेर लड्ने नेपालीको बानी हुन्छ’ का गायक

काठमाडौं । वरिष्ठ साहित्यकार र सङ्गीतकार गणेश रसिकको आज बिहान ७८ वर्षको उमेरमा निधन भएको छ। उनी ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचार गराइरहनुभएको थियो। सङ्गीतकार बुलु मकारुङले रसिकको बिहान ११ बजे निधन भएको जानकारी दिनुभयो।

रसिकको पार्थिव शरीर हाल महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ। उहाँकी छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिनेछ।

भोप्रपुर छिनामाखुमा सन् २०४४ असोज ४ मा जन्मनुभएका रसिकले करिब पाँच दशक अघि ‘लेकाली’ समूहबाट गायन क्षेत्रमा पाइला टेकेका थिए। उहाँ कवि, गीतकार, सङ्गीतकार, लेखक, निबन्धकार र नियात्राकारका रूपमा परिचित हुनुहुन्थ्यो।

रसिकका कृतिहरूमा कथासङ्ग्रह, कविता, निबन्ध र नियात्रा समेटिएका छन्, जसमध्ये ‘कथासङ्ग्रह’, ‘गणेश रसिकका गीत’, ‘आकाश गङ्गाको ओतमुनि’, ‘दशगजामा उभिएर’, ‘जब सिस्नोहरू टेक्दै हिँडेलगायत’ उल्लेखनीय छन्। उनका केही रचना विद्यालयका पाठ्यपुस्तकमा समेत समावेश छन्।

उहाँका श्रीमती र छोरा पहिल्यै निधन भइसकेको छ। रसिकले सांस्कृतिक क्षेत्रमा रत्न रेकर्डिङ संस्थान र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक र नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवका रूपमा पनि काम गर्नुभएको थियो।

उनका गीतहरूमा ‘हटेर होइन, डटेर लड्ने नेपालीको बानी हुन्छ’, ‘तराई हेर कति राम्रो हरियो वन हुनाले’, ‘मेरो टाउको सानो छ, यो टाउको विशाल देश छ’, ‘रातो भाले क्वाँए क्वाँए’ जस्ता राष्ट्रिय र लोकगीतहरू लोकप्रिय छन्।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस