२० जेठ, काठमाण्डौँ । यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक गाडी बन्दका कारण आज पनि सर्वसाधारण यात्रु मर्कामा परेका छन् । सार्वजनिक गाडी नभएपछि यात्रुहरूले पठाओ, इन्ड्राइभजस्ता राइड शेयरिङमा महँगो मूल्य तिरेर यात्रु गर्नुपरेको गुनासो गरेका छन् ।
साझा यातायातले भने बस सञ्चालन गरिरहेको छ । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीले आज पनि २ वटा रुटमा निःशुल्क बस चलाएको छ । यसैबीच पोखराबाट चितवन तथा काठमाडौ आउने पर्यटकीय गाडीलाई आज पनि स्कर्टिङ गरिएको छ । २० पर्यटक गाडीमध्ये १७ वटा काठमाडौ र ३ वटा चितवनका लागि स्कर्टिङ गरिएको छ । यसैगरी मुक्तिनाथ दर्शन गरी फर्किएका तीर्थयात्रीसहितको एउटा विद्युतीय भ्यान पनि स्कर्टिङमार्फत नै काठमाण्डौ ल्याइएको प्रहरीले जनाएको छ । गएराति सरकारसँग भएको सहमतिअनुसार यातायात व्यवसायीहरूले आज बिहानदेखि नियमित गाडी चलाउनुपर्ने भए पनि अहिलेसम्म चलाएका छैनन् ।

