काठमाडौं। संवैधानिक इजलासले बुधबार पूर्णिमाया लामाले मन्त्रपिरषिद्, प्रधानमन्त्री तथा मन्त्रिपरषिद् कार्यालयसमेत ७ जनालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा आदेश जारी भएसँगै अग्नि सापकोटाविरूद्ध अनुसन्धानको बाटो खुलेको भन्दै उनका वकिल पुष्पराज पौडेलले अनुसन्धानका लागि सापकोटालाई पक्राउ गर्नुपर्ने माग राखेका छन् ।
द्वन्द्वकालीन समयमा भएको काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध अर्जुनकी पत्नी पूर्णिमाया लामाले दायर गरेको रिटमा बुधबार सर्वोच्च अदालतले उत्प्रेषण आदेश जारी गरेसँगै सापकोटाविरुद्ध प्रहरीबाट अनुसन्धान गर्ने बाटो खुलेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा बुधबार भएको सुनुवाइपछि पूर्णिमायाकै मागबमोजिम उत्प्रेण आदेश जारी भएको छ । यसअघि सर्वोच्चले अनुसन्धानको विवरण झिकाउन आदेश गरेर अन्तिम फैसलाको तयारी गरेको थियो । सापकोटाविरूद्ध प्रहरीले जाहेरी नै लिन इन्कार गर्यो , पछि अदालतकै आदेश अनुसार जाहेरी लियो तर महान्याधिवक्ता मार्फत सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय लियो । प्रहरीले अनुशन्धान तामेलीमा राख्यो । उक्त सबै सरकारी निर्णयहरु अदालतको आदेशबाट बदर भएका छन् ।

