किएभ, युक्रेन । पछिल्ला केही दिनयता युक्रेन र रूसबीचको तनाव झनै चुलिँदो छ। अमेरिकी अधिकारीहरूले रूसले युक्रेनमाथि छिट्टै व्यापक र विध्वंसात्मक आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्। अमेरिकी गुप्तचरका अनुसार आगामी केही दिनभित्रै रूसले युक्रेन विरुद्ध अबसम्मकै ठूलो हमला गर्ने सम्भावना छ।
गत शुक्रबार मात्रै रूसले युक्रेनका विभिन्न भूभागहरूमा ४० वटा मिसाइल र ४०० भन्दा बढी ड्रोन प्रहार गर्दै शक्तिशाली आक्रमण गर्यो। रूसी सेनाले यो आक्रमण युक्रेनले गत आइतबार रूसी सैन्य हवाई अड्डाहरूमाथि गरेको साहसी ड्रोन हमलाको जबाफ स्वरूप गरेको बताएको छ।
उक्त दिन युक्रेनले ११७ वटा मानवरहित ड्रोन मार्फत रूसका हवाई अखडाहरूमा आक्रमण गर्दै, कम्तिमा ४१ वटा बमवर्षक र निगरानी विमानहरू ध्वस्त पारेको दाबी गरेको थियो। तीमध्ये टियू-९५ र टियू-२२ बमवर्षक विमानहरू हुन्, जुन रूसका लागि अत्यन्तै रणनीतिक र मूल्यवान मानिन्छन्। युक्रेनको यो हमला युद्ध सुरु भएयताकै सबैभन्दा दुस्साहसी मानिएको छ।
अमेरिकाका वरिष्ठ सुरक्षाधिकारीहरूले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग भनेका छन्, “रूसको वास्तविक जवाफी हमला अझै आएको छैन। उनीहरूले अझै ठुलो हमला गर्न सक्ने तयारी गरेका छन्।” उनीहरूका अनुसार रूसले विभिन्न प्रकारका मिसाइल र ड्रोन प्रयोग गर्दै एकैचोटि बहुआयामिक हमला गर्ने योजना बनाएको छ।
हालको अनुमानमा रूसको मुख्य निशाना युक्रेनी गुप्तचर संस्था एसबीयूको केन्द्रीय मुख्यालय तथा अन्य क्षेत्रीय गुप्तचर केन्द्रहरू हुन सक्छन्। कार्नेगी एन्डोमेन्ट फर इन्टरनेशनल पिस का रूसी विश्लेषक माइकल कोफम्यानका अनुसार, “रूसले रक्षा प्रविधि उत्पादन केन्द्रहरूलाई पनि निशाना बनाउन सक्छ। तर उसको विकल्प सीमित छन्, किनकि पहिले नै ठूलो सैन्य शक्ति प्रयोग भइसकेको छ।”
अहिले रूसले आफ्ना अधिकांश आधुनिक बमवर्षक विमान गुमाइसकेको, अथवा क्षति भोगिरहेको संकेतहरू सार्वजनिक हुँदै गएका छन्। युक्रेनले ध्वस्त पारिएको दाबी गरेका विमानहरू महँगा, निर्माणमा जटिल र संख्या सिमित छन्। तीमध्ये ए-५० विमान त यति बहुमूल्य छ कि यसको प्रतिस्थापन रूसका लागि सजिलो छैन। यसले लडाकू विमानहरूलाई लक्ष्य पहिचानमा सहयोग पुर्याउँछ।
त्यसैगरी, टियू-९५ र टियू-२२ विमानहरू तीन दशक पुराना भए पनि रूसका प्रमुख क्रुज मिसाइल प्रक्षेपणकर्ता हुन्। युक्रेनले यदि तीमध्ये झण्डै एकतिहाइ नष्ट गरेको हो भने, रूसलाई भविष्यमा युक्रेनमाथि लामो दूरीका हवाई हमलाहरू गर्न मुस्किल पर्न सक्छ।
रूसी रक्षा मन्त्रालयले यद्यपि क्षति न्यून रहेको दाबी गरेको छ र “प्राविधिक मर्मतपछि ती विमानहरू पुनः प्रयोग गर्न सकिने” बताएको छ। तर, रूसी सैन्य ब्लगरहरू र विश्लेषकहरू भने यो दाबीप्रति सशंकित देखिन्छन्। उनीहरूको भनाइ अनुसार, एक दर्जनभन्दा बढी विमानहरू गम्भीर क्षतिग्रस्त छन्, जसमा आणविक क्षमतायुक्त बमवर्षकहरू पनि छन्।
रूस यतिबेला आफ्ना शक्तिशाली आकाशीय हतियारहरूमा धक्का खेपिरहेको अवस्थामा देखिन्छ, भने अमेरिका र पश्चिमी मुलुकहरू अब आउने हमला अझै भयानक हुने अनुमान गरिरहेका छन्।
यसबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबारको हमलालाई “इतिहासकै साहसिक कदम” भन्दै रूसको सैन्य शक्तिमा ठूलो धक्का दिएको दाबी गरेका छन्। उनले भने, “हामीले सावधानीपूर्वक योजनाबद्ध आक्रमणमार्फत तिनीहरूको रणनीतिक हतियार क्षमतामा प्रहार गरेका छौँ।”
भविष्य अनिश्चित छ, तर आकाश फेरि गड्गडाउने निश्चित
युद्धले अझै भयावह रूप लिन सक्ने देखिएको छ। युक्रेनको आकाश फेरि मिसाइल र ड्रोनले गडगडाउने सम्भावना बलियो हुँदै गएको छ। रूसले यदि आगामी दिनहरूमा जबाफ दिने हो भने त्यो हमला केवल सैन्य मात्रै होइन, मनोवैज्ञानिक सन्देशसहितको हुनसक्छ।
विश्वको दृष्टि अब पूर्वी युरोपतर्फ सोझिएको छ। शान्तिको चाहना अझै बाँकी छ, तर धम्कीको आवाज निकै ठूला हुँदै गइरहेका छन्।

