२०८३ बैशाख ३० गते बुधवार | 2026 May 13th Wednesday

ओरालो लाग्दै सुनको मूल्य

gold price today nepal

काठमाडौँ । तोलामा दुई लाख रुपियाँ नजिक पुगेको सुनको मूल्य क्रमिक रूपमा घट्न थालेको छ । पछिल्लो दुई सातामा सुनको मूल्य तोलामा साढे नौ हजार रुपियाँले घटेको छ ।

निरन्तर बढ्दै गएको सुनको मूल्य इजरायल र इरानबिच भएको युद्ध रोकिएसँगै घट्न थालेको हो । युद्धविराम रोकिएसँगै बजार स्थिर हुँदा लगानीकर्ताले सुन बेच्न थालेपछि मूल्यसमेत घट्दै गएको बताइएको छ । आगामी दिनमा थप मूल्य घट्दै जाने बताइएको छ ।

असार १ गते प्रतितोला एक लाख ९७ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य दुई सातामै तोलामा नौ हजार चार सय रुपियाँले घटेर सोमबार एक लाख ८८ हजार एक सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । युद्धका कारण अन्तर्राष्ट्रिय बजार अस्थिर हुँदा सुनको मूल्य निरन्तर बढ्दै गएको थियो । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले युद्ध रोकिएपछि लगानीकर्ता धमाधम सुन बेच्न आउन थालेपछि सुनको मूल्य घट्न थालेको जानकारी दिनुभयो ।

“अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रतिऔँस तीन हजार डलरसम्म झर्ने अनुमान गरिएको छ,” शाक्यले भन्नुभयो “त्यतिबेला स्थानीय बजारमा सुनको मूल्य एक लाख ७५ हजार रुपियाँ हुन्छ ।” मूल्य घट्दा बजारमा सुनको माग बढ्ने हुँदा कारोबारसमेत वृद्धि हुने अनुमान गरिएको उहाँको भनाइ छ ।

यसअघि सुनको मूल्य बढेर अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस तीन हजार ५०९ डलर पुगेको थियो । यो वर्षकै सबैभन्दा उच्च मूल्य हो । त्यतिबेला स्थानीय बजारमा सुनको मूल्य तोालमा एक लाख ९७ हजार नौ सय रुपियाँमा कारोबार भएको थियो । पछिल्लो एक/डेढ सातादेखि अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको मूल्य घटेर प्रतिऔँस तीन हजार २७४ डलरमा आएको छ ।

निरन्तर मूल्य घटे पनि स्थानीय बजारमा सुनचाँदीको कारोबार भने हुन नसकेको व्यवसायीको भनाइ छ । सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिराजडित गहनामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको माग गदै व्यवसायीले अनिश्चितकालीन पसल बन्द गर्दा कारोबार हुन नसकेको हो ।

दुई दिनअघिदेखि मुख्य सडकदेखि भित्री गल्लीमा रहेका सुन पसल बन्द गरेर व्यवसायी आन्दोलनमा उत्रेका छन् । पसल बन्द हुँदा गहना खरिद गर्ने ग्राहकलाई भने समस्या परेको छ । दैनिक २० केजीका दरले विभिन्न वाणिज्य बैङ्कले सुन आयात गर्दै आएकामा पछिल्लो समय आयात रोकेका छन् । बैङ्कसँग ५८ किलो सुन रहेको र माग पनि नभएकाले आयात नगरेको बताइएको छ ।

वर्षमा ४६ हजारले बढ्यो मूल्य

यसैबिच एक वर्षको अवधिमा बजारमा प्रतितोला सुनको मूल्य तोलामा ४६ हजार रुपियाँले बढेको छ । १६ असार २०८१ मा प्रतितोला एक लाख ४२ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्य बढेर सोमबार एक लाख ८८ हजार एक सय रुपियाँमा कारोबार भएको छ ।

सुन आयातमा लाग्दै आएको भन्सार महसुल २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झार्दा तोलामा एक लाख ८१ हजार पुगेको सुनको मूल्य घटेर एक लाख ४७ हजार रुपियाँमा झरेको थियो । त्यसपछि पनि क्रमिक रूपमा बढ्दै गएर सुनको मूल्य दुई लाख नजिक पुगेको थियो ।

 

प्रकाशित मिति : २०८२ असार १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस