१८ असार , काठमाडौँ । भारतको सरकारी स्वामित्वमा रहेको इन्डियन आयल कर्पोरेसन आईओसीले मंगलबारदेखि व्यवसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यासको मूल्य घटाएको छ । कम्पनीले भारतमा प्रतिसिलिन्डर ५८ रुपैयाँ ५० पैसाले मूल्य घटाएसँगै दिल्लीमा ग्यासको नयाँ मूल्य १६६५ भारतीय रुपैयाँ पुगेको छ । यसअघि उक्त मूल्य १७२३ रुपैयाँ ५० पैसा थियो ।
यो पछिल्लो समायोजनअघि एक महिनाअघि अर्थात् जुन १ मा पनि प्रतिसिलिन्डर २४ रुपैयाँले मूल्य घटाइएको थियो । एलपी ग्यासको मूल्यमा भारतमा क्रमिक रूपमा गिरावट आइरहेको अवस्थामा आईओसीले सोमबार साँझ नेपाल आयल निगमलाई पनि नयाँ मूल्य सूची पठाएको थियो । नयाँ सूचीमा निगमलाई व्यवसायिक ग्यासको मूल्य प्रतिसिलिन्डर ५१ रुपैयाँले घटाएर पठाइएको थियो ।
तर, नेपाल आयल निगमले भारतबाट घटेर आएको मूल्यलाई यथावत् राख्दै उपभोक्तालाई राहत नदिने निर्णय गरेको छ । उल्टै निगमले पेट्रोल, डिजेल र हवाइ इन्धनको मूल्यमा वृद्धि गरेको छ । निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएको दाबी गर्दै आए पनि ग्यासमा भने विगतमा भएको घाटालाई कारण देखाउँदै मूल्य नघटाइएको तर्क गर्दै आएको छ ।

