काठमाडौं । आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरले जापानिज भाषा स्कुल संघ (जाल्सान) नेपालसॅंगको सहकार्यमा शैक्षिक परामर्श व्यवसायीहरूलाई लक्षित गरी करदाता शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । अल्फा हाउस वानेश्वरमा आयोजित कार्यक्रममा कर अधिकृत रमेश श्रेष्ठले करसम्बन्धी विविध विषयमा जानकारीमूलक प्रस्तुती प्रस्तुत गरेका थिए। यस्तै कर एवं लेखा व्यबस्थापनका विषयमा सिए नवराज गौतमले प्रशिक्षण गरेका थिए ।
सहभागीहरुका जिज्ञासालाई कर अधिकृत वेद प्रसाद खनाल एवं प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले सम्बोधन गरेका थिए ।जाल्सानका अध्यक्ष रमेश देवकोटाले कर शिक्षा कार्यक्रम व्यवसायीका लागि निकै उपयोगी रहेको प्रतिक्रिया दिदै आगामी दिनमा समेत सहकार्यको अपेक्षा व्यक्त गरे । कार्यक्रममा आर्थिक विधेयक, २०८२ का प्रावधान एवं छुट सुविधाका सम्बन्धमा सुसूचित गरिएको थियो ।

यस्तै कर सम्बन्धि सन्देशमूलक भिडिओ सामाग्री प्रशारण गरिएको थियो। प्रमुख कर अधिकृत आचार्यले परामर्श व्यवसायीहरूले पालना गर्नुपर्ने कानूनी प्रावधानतर्फ जोड दिएका थिए । उनले व्यवसायमैत्री नीतिमार्फत अर्थतन्त्रमा स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्न निजी क्षेत्रबाट सकारात्मक पृष्ठपोषणको सदैव अपेक्षा रहने प्रष्ट पारेका थिए ।
कार्यक्रमको संचालन जाल्सानका महासचिव अरुण पाण्डेले गरेका थिए भने संस्थाका प्रथम उपाध्यक्ष एवं तालिम संयोजक महेश श्रेष्ठले कार्यक्रमको संयोजन गरेका थिए ।

आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरले आम व्यवसायी एवं करदाताहरुका लागि अत्यन्तै लाभदायी जानकारी मूलक श्रव्य/दृष्य सामाग्री समेत निर्माण गरेको छ । चर्चित कलाकारहरुको अभिनयमा कर ऐन अनुसार अनिवार्य भ्याटमा दर्ता हुनुपर्ने र व्यवसायीक कारोबारबाट प्राप्त रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाईने व्यवस्थाका सम्बन्धमा भिडिओहरुले सचेत गराएको छ । यस्ता जानकारीले व्यवसायीलाई सचेत गराई कानून उलङ्घनबाट बच्ने र राष्ट्रिय ढुकुटीमा समेत उल्लेखनीय योगदान हुने अपेक्षा गर्न सकिन्छ ।


