बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । धनगढीबाट दार्चुलाको गन्ना गइरहेको सुप प्र ०४ ००१ ज १३७२ नम्बरको जिप शनिबार बिहान करिब ५ः३० बजे बैतडीको पाटन नगरपालिका–६ खिपालीमा दुर्घटना भएको हो ।
दुर्घटनामा बैतडीको डिलासैनीका २५ वर्षका हेमन्त प्रसाद भट्ट, २७ वर्षका राजेन्द्र खत्री, २१ वर्षकी भागरती खत्री र उहाँकी दुई वर्षीया छोरी एलिसा खत्री घाइते भएका छन् । यसैगरी, डिलासैनीकै ३९ वर्षका राम कुमार राना, चालक सन्तोष राना, बहादुर राना र किरण बोहरा पनि घाइते हुनुभएको छ । घाइतेमध्ये जिप चालक राना, बोहरा र बहादुरको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीयले उद्धारमा खटिएका थिए । घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिएको छ । गम्भीर घाइतेहरुलाई रेफरको तयारी भइरहेको स्थानीय सञ्चारकर्मी वशन्त बिष्टले जानकारी दिए ।

