२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

युएईस्थित नेपाली दूतावासबाट श्रम स्वीकृति औपचारिक रूपमा सुरु

Nepali Embassy UAE

अबुधावी । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधावी स्थित नेपाली दूतावासले शनिवारबाट ‘दूतावासस्तरीय श्रम वैधानिकीकरण सेवा’ औपचारिक रूपमा सुरु गर्ने भएको छ।

दूतावासले आज एक सूचना प्रकाशित गर्दै तत्कालका लागि आगामी शनिवार बाट लागुहुने गरी हरेक महिनाको पहिलो र तेस्रो शनिवार अवुधावी क्षेत्र वरपरका नेपालीका लागि यो सेवा सुरु गर्ने जनाएको छ । त्यस्तै दुबई तथा अन्य राज्यकालागि छिट्टै अर्को सूचना मार्फत जानकारी गराउने सूचनामा उल्लेख छ ।

पाँच महिना अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा खाडीका दुई देश युएई र ओमानमा एकसाथ उद्घाटन गरिएको यो सेवा कार्यान्वयनमा आउन सकेको थिएन। उद्घाटनको तीन महिना बितिसक्दा समेत सेवा सुरु नभएको भन्दै नेपाल प्रेसले समेत विषय उठान गरेको थियो ।

अत्यधिक आलोचना पश्चात् मन्त्रालयले आवश्यक कार्यविधि र निर्देशिका तयार गरी दूतावासलाई सेवा दिन अनुमति दिएको हो। श्रम स्वीकृति सेवाको थालनीसँगै अब युएईमा रहेका श्रमिकहरूले युएई बाट श्रम स्वीकृति नवीकरण तथा बैधानिकीकरणको प्रक्रिया दूतावासमार्फत पूरा गर्न सक्नेछन्। यसले श्रमिकहरूको समय, खर्च बचत हुने र झन्झट कम हुने विश्वास लिइएको छ।

यस अघि उद्घाटनको क्रममा दुबईस्थित नेपाली दूतावासमा दुई नेपाली महिलाहरू निशा काफ्ले र सुबिना मल्ललाई श्रम स्वीकृति प्रदान गर्दै सेवा उद्घाटन गरिएको थियो । यद्यपि युएईमा सेवा सुरु हुने भए पनि ओमानमा भने अझै सेवा सञ्चालनको तयारी नसकिएकाले त्यहाँका नेपाली श्रमिकहरूले अझै केही समय पर्खिनु पर्ने भएको छ ।

मन्त्रालय तथा दूतावासका यो प्रयासलाई युएईस्थित श्रमिक समुदायले स्वागत गरेको छ। उनीहरूका अनुसार श्रम स्वीकृति प्रक्रिया यथाशीघ्र लागू भई दूतावासमार्फत सजिलै सेवा पाइने भएपछि रोजगारका अवसरहरू थप सुरक्षित र वैधानिक हुनेछन्। तथा समस्यामा परेका नेपालीको उद्धारमा थप सहजता हुने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : २०८२ साउन २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस