काठमाडौँ । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ । प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो ।
प्राधिकरणले जारी गरेको सूचनामा टेलिग्राम एपमार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको भन्दै भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएको उक्त टेलिग्राम एपको पहुँचमा रोक लगाउने बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसंचार सेवा प्रदायकहरुलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा रहेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कसूर निवारण सम्बन्धी राष्ट्रिय समन्वय समितिले टेलिग्रामलाई बन्द गराउन प्रक्रिया अघि बढाएको थियो ।
२०८१ को भदौमा टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डयु्रोभ आफैं फ्रान्समा पक्राउ परेका थिए । त्यसबेला उनीमाथि टेलिग्राममार्फत अवैध लेनदेन, लागूऔषध तस्करी, ठगी र बालबालिकामाथि यौन दुर्व्यवहारसँग सम्बन्धित तस्वीरहरू प्रसारमा संलग्नताको आरोप लगाइएको थियो । फ्रान्सले उनलाई त्यसबेला जमानतमा छाडे पनि पावेलको गिरफ्तारीले संसारभरि नै यो एपको नियमनबारे बहस सिर्जना गराइदिएको थियो ।

