२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सावधान ! साधुको रुपमा बच्चा चोर्ने छिरे, छोरा भन्दै बालक लिएर हिँड्दै गर्दा प्रहरीलाई बुझाएपछि जे खुल्यो

जितपुर । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका–९ पडरिया टोलमा एक साधु नक्कली छोरा बनाएर लैजान खोजेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । शुक्रबार दिउँसो करिब १२ बजेतिर शिवराज नगरपालिका बसोबासी भएको बताउने ३० वर्षीय बद्री ठाकुर (साधु) नामक व्यक्तिले १३ वर्षीय बालक सुमन सुनारलाई आफ्नो छोरा भन्दै अर्घाखाँचीको सुपा देउराली जाने भन्दै बाटो लागेका थिए । तर बाटैमा जनचेतना आमा समूह (ख) पडरियाका महिलाले शङ्का गरी साधु र बालकलाई सोधपुछ गरेका थिए ।

सोधपुछका क्रममा साधुले बालकलाई आफ्नो छोरा भएको दाबी गरे पनि कुरो मिलेन। उनी छिनछिनमा कुरा फेरिरहेका कारण स्थानीयलाई शङ्का झनै बढेको थियो । पछि सत्य तथ्य नखुलेपछि जनचेतना आमा समूहले वडा कार्यालय–९ मा बुझाए । वडा कार्यालयले तत्कालै दुवैलाई इलाका प्रहरी कार्यालय पिपरामा जिम्मा लगाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । बालक वास्तविक रूपमा सुमन सुनार नै भएको तर साधु बद्री ठाकुरसँग कुनै नाता नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ । सोधपुछका क्रममा साधुले किन बालकलाई छोरा बनाएर लैजान खोजेका हुन् भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : २०८२ भाद्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस