२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

अमेरिकामा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ । दक्षिण अमेरिकाको दक्षिणी छेउमा पर्ने ड्रेक जलमार्ग क्षेत्रमा शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको प्रारम्भिक मापन ८.० म्याग्निच्युड गरिएको थियो तर पछि परिमार्जन गर्दै ७.५ म्याग्निच्युड कायम गरिएको छ।

भूकम्पको केन्द्रविन्दू दक्षिणी चिली र अन्टार्टिकाबीचको समुद्री क्षेत्र, ड्रेक जलमार्गमा रहेको थियो, जुन केप हर्न र अन्टार्टिकाको दक्षिण शेटल्यान्ड टापुहरूको बीचमा पर्छ। यस क्षेत्र जटिल टेक्टोनिक प्लेटहरूको सङ्गमस्थल भएकाले भूकम्पीय गतिविधि सामान्य मानिन्छ।

भूकम्प समुद्री सतहबाट ३६ किलोमिटर गहिराइमा केन्द्रित भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। यद्यपि, हालसम्म कुनै पनि हताहत वा संरचनात्मक क्षतिको विवरण सार्वजनिक भएको छैन।

ड्रेक जलमार्ग पूर्वमा एटलान्टिक महासागर र पश्चिममा प्रशान्त महासागरलाई जोड्ने महत्वपूर्ण समुद्री मार्ग हो, जसको चौडाइ करिब ८०० किलोमिटर रहेको छ।

सुरक्षाका दृष्टिले क्षेत्रीय निकायहरूले निगरानी जारी राखेका छन् भने वैज्ञानिकहरूले सम्भावित पराकम्पनबारे पनि चेतावनी दिएका छन्।

प्रकाशित मिति : २०८२ भाद्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस