२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

महोत्तरीमा विद्यालयको खाजामा छेपारो, ६० बालबालिका अस्पताल भर्ना

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीस्थित आदर्श माध्यमिक विद्यालयका करिब ६० बालबालिका खाजामा छेपारो परेको घटनापछि अस्पताल भर्ना भएका छन्।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश महतोका अनुसार बिहीबार दिउँसो विद्यालयले दिएको खाजामा एक विद्यार्थीको प्लेटमा छेपारो देखिएको थियो। उक्त विद्यार्थीले खाजा नखाई घर फर्केर घटनाबारे अभिभावकलाई जानकारी दिएका थिए।

अभिभावकले विद्यालयमा खाजामा छेपारो परेको थाहा पाएपछि केही बालबालिकाले वाकवाकी लागेको बताएका थिए। सतर्कताका लागि तत्कालै खाजा खाएका ६० जना बालबालिकालाई प्रादेशिक अस्पताल जनकपुर ल्याइएको महतोले जानकारी दिए।

“बालबालिकामा अहिले कुनै समस्या देखिएको छैन। तर, कुनै अप्रिय घटना नहोस् भनेर अस्पतालमा ल्याइएको हो,” महतोले भने।

प्रादेशिक अस्पताल जनकपुरका आकस्मिक कक्ष इन्चार्ज डा. शरद यादवले पनि बालबालिकामा कुनै स्वास्थ्य समस्या नदेखिएको बताए। उनका अनुसार अभिभावक चिन्तित भएकाले अस्पतालमा निगरानीमा राखिएको हो।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस