२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

फेसबुक, ट्विटरसहित २६ सामाजिक सञ्जाल बन्दबिरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सरकारले फेसबुक, ट्विटर (एक्स) लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता नभएका सामाजिक फ्लेटफर्ममा प्रतिबन्ध लगाउने निर्णयविरुद्ध रिट दिएका हुन्।

अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध रिट आएको छ। अहिले रिटमाथि अध्ययन भइरहेको छ।

सरकारले बिहीबार सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको थियो। यसअघि अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्सबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमा बन्देज लगाउन र आवश्यक कानुन निर्माण गर्न सरकारलाई निर्देशन दिएको थियो।

न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले बुधबार सरकारलाई विदेशी प्रसारण संस्था नेपालमा अनुमति लिएर मात्र कार्यक्रम प्रसारण गर्नुपर्ने र आवश्यक कानुन निर्माण गर्न परमादेश जारी गरेको थियो। रिट निवेदनमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विज्ञापन बोर्ड र दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस