भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध पुनर्विचार गर्ने विषयमा छलफल भइरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सो बैठकमा प्रतिबन्धबारे छलफल हुने जानकारी गुरुङले बीबीसी न्यूज नेपालीसँग दिएका हुन्। उनले जनताको ज्यान भन्दा ठूलो सरकारको कुनै निर्णय नहुने भन्दै आवश्यक परे नीतिगत निर्णय पनि पुनर्विचार गर्न सकिने स्पष्ट पारे।
गुरुङले जेन जीको आन्दोलनका क्रममा भएको मृत्यु घटनाप्रति दुःख व्यक्त गर्दै शान्तिपूर्ण विरोध स्वाभाविक भए पनि उग्र रूप लिन थालेपछि बल प्रयोग गर्नुपर्ने अवस्था आएको बताए। उनका अनुसार संसद् भवन र सिंहदरबार कब्जा गर्नेतर्फ आन्दोलन मोडिएपछि सरकारलाई हस्तक्षेप गर्न बाध्य हुनुपर्यो।
उनले सेना परिचालन भने तत्काल आवश्यक नदेखिएको उल्लेख गरे। परिस्थितिको समीक्षा भइरहेको जनाउँदै गुरुङले शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार जेन जी पुस्तालाई भए पनि हिंसात्मक रुप लिनु दुःखद भएको बताए।

