२०८२ भाद्र २९ गते आइतवार | 2025 September 14th Sunday

सरकारले भदौ २३–२४ को जेनजी आन्दोलनमा मृत्यु भएका ७२ जनालाई शहिद घोषणा

काठमाडौं । सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा मृत्यु भएका ७२ जनालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ। प्रत्येक शहिद परिवारलाई १० लाख रुपैयाँ राहत र घाइतेको निःशुल्क उपचार उपलब्ध गराइनेछ।

मुख्यसचिव एकनारायण अर्यालका अनुसार आन्दोलनका क्रममा ५९ प्रदर्शनकारी, १० कैदीबन्दी र ३ सुरक्षा अधिकारीको मृत्यु भएको छ। १३४ प्रदर्शनकारी र ५७ प्रहरी घाइते भएर विभिन्न अस्पतालमा उपचाररत छन्।

प्रधानमन्त्री सुशीला कार्कीले युवापुस्ताको चाहनाअनुसार भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता सुनिश्चित गर्न निर्देशन दिएकी छिन्। उनले क्षतिपूर्ति र पुनर्निर्माण कार्य देशभित्र उपलब्ध स्रोत प्रयोग गरेर गर्नुपर्नेमा जोड दिएकी छिन्।

कार्कीले जिम्मेवारी सेवा गर्न आएको बताउँदै छ महिनाभित्र नयाँ निर्वाचनबाट संसद् गठन गर्ने उद्देश्य रहेको स्पष्ट गरेकी छिन्। मुख्यसचिव अर्यालले क्षतिपूर्ति र पुनःनिर्माणका लागि बजेट व्यवस्था गरी प्राथमिकताका आधारमा कार्य अघि बढाउनुपर्ने बताए।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस